+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

त्रिविको नयाँ पाठ्यक्रममा पारिजात र विश्वेश्वरप्रसाद यथावत्, तर अध्ययनको विधि परिवर्तन

पाठ्यक्रम संशोधन समितिका सदस्यहरूका अनुसार, केही व्यक्तिले अध्ययन नै नगरी अनावश्यक विवाद सिर्जना गरिरहेका छन्। मस्यौदा समितिका संयोजक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल भन्छन्

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन २७ – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नेपाली पाठ्यक्रम परिमार्जन गरेपछि केही व्यक्तिले साहित्यकार पारिजात र विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित पाठ हटाइएको भन्दै विरोध जनाइरहेका छन्। तर, पाठ्यक्रम निर्माणमा संलग्न विज्ञहरूका अनुसार यो पूर्णतः भ्रामक प्रचारबाजी मात्र हो।

नयाँ पाठ्यक्रमअनुसार, यसअघि ऐच्छिक रूपमा गरिँदै आएको व्यक्तिपरक अध्ययन हटाइएको छ। यसको सट्टा साहित्यिक धाराहरूलाई प्राथमिकता दिँदै प्रवृत्तिपरक अध्ययन समावेश गरिएको छ। जसअनुसार, मनोवैज्ञानिक यथार्थवादी धारामा विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा उपन्यास तथा प्रगतिवादी धारामा पारिजातको शिरीषको फूल उपन्यास समावेश छ।

पाठ्यक्रम निर्माणमा संलग्न प्रा.डा. ध्रुव भट्टराईका अनुसार पाठ्यक्रमको संरचनामा परिवर्तन भए पनि पारिजात, विश्वेश्वरप्रसाद, भवानी भिक्षु, लक्ष्मीप्रसाद देवकोटाजस्ता स्रष्टाहरू यथावत् छन्। उनले भने, “नयाँ पाठ्यक्रमले पुनरावृत्ति रोक्ने प्रयास गरेको हो। पहिले जस्तो एउटै लेखकलाई विभिन्न विधामा पढ्नुपर्ने परम्परा हटाइएको मात्र हो।”

त्रिविले हरेक १० वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नीति अनुरूप, देशभरका प्राध्यापकहरूबाट राय संकलन गरी नयाँ पाठ्यक्रम बनाइएको हो। यसपटक व्यक्तिपरक अध्ययन हटाएर एसियाली साहित्य, आप्रवासी साहित्य, लोकवार्ता, नाटक, चलचित्र, भाषाविज्ञानजस्ता नयाँ विषय थपिएका छन्।

पाठ्यक्रम संशोधन समितिका सदस्यहरूका अनुसार, केही व्यक्तिले अध्ययन नै नगरी अनावश्यक विवाद सिर्जना गरिरहेका छन्। मस्यौदा समितिका संयोजक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल भन्छन्, “कसैले पाठ्यक्रम राम्रोसँग नबुझी, स्वार्थी उद्देश्यका लागि गलत हल्ला फैलाइरहेका छन्। पाठ्यक्रमले सबै साहित्यिक धारालाई प्रतिनिधित्व गर्ने प्रयास गरेको छ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ