प्रधानमन्त्रीको बारम्बारको अनुपस्थितिले सरकार र प्रतिपक्षबीचको सम्बन्ध थप जटिल बन्दै गएको देखिन्छ। अबको राजनीतिक अवस्थाले के कस्तो प्रभाव पार्नेछ भन्ने प्रश्न उस्तै छ।
काठमाडौं, फागुन २७ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिले सत्ता र प्रतिपक्षबीचको बढ्दो दूरी पुनः देखाएको छ।
यसअघि पनि प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री अनुपस्थित हुने गरेका छन्। यस पटक प्रधानमन्त्री ओली कोशी प्रदेश सभामा सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन विराटनगर जाँदैछन्।
यसअघि माघ २४ गते प्रचण्डले संसदमा बोलेका बेला पनि प्रधानमन्त्री अनुपस्थित थिए। त्यतिबेला उनले संसदीय परम्परा अनुरूप प्रमुख प्रतिपक्षी दलका नेताले बोल्दा प्रधानमन्त्रीको उपस्थिति आवश्यक भएको बताएका थिए। तर, त्यस दिन ओली बालुवाटारमा टिकटक प्रयोगकर्ताहरूलाई भेट्दै थिए भन्ने खबर बाहिर आएको थियो।
मंगलबारको बैठकमा आकस्मिक तथा शून्य समयपछि प्रचण्डले सम्बोधन गर्नेछन्। साथै, आमसञ्चार विधेयक, उपभोक्ता अदालत गठनको सूचना र मोन्ट्रियल प्रोटोकल किगाली संशोधन अनुमोदन गर्ने कार्यसूची पनि संसदमा टेबुल हुनेछ।