+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

रोजगारी सिर्जना र औद्योगिक विकासका लागि वातावरण निर्माण जरुरी: अध्यक्ष ढकाल

सम्मेलन अन्तर्गत विभिन्न सेसनहरू सोमबार र मंगलबार सञ्चालन हुने छन्, जसमा श्रम बजार सुधार र रोजगारी प्रवद्र्धनका विषयमा छलफल हुनेछ।

जनवाच
१ महिना अगाडी

काठमाडौँ, फागुन २६ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमै रोजगारी सिर्जना र औद्योगिक विकासका लागि अनुकूल वातावरण निर्माण पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य संघसंस्थाको सहआयोजनामा काठमाडौँमा आयोजित ५औँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र श्रमशक्तिको उचित उपयोग आवश्यक रहेको बताए।

अध्यक्ष ढकालका अनुसार नेपालमा रोजगारीको अवसर सीमित भए पनि दक्ष जनशक्ति पाइरहनु अर्को चुनौती बनेको छ। स्वदेशमै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारको निर्भरता घटाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ।

“नेपाली श्रमशक्ति रोजगारीको खोजीमा विदेशिन बाध्य छ, तर स्वदेशमै उद्योग-व्यवसाय सञ्चालन गर्न खोज्ने रोजगारदाताले आवश्यक सीपयुक्त जनशक्ति पाउन सकिरहेका छैनन्। यस्तो अवस्थामा रोजगारीको माग, आपूर्ति, सीप विकास तथा श्रम बजारको असन्तुलनलाई गहिरो रूपमा अध्ययन गर्दै समाधान निकाल्नुपर्छ,” अध्यक्ष ढकालले भने।

उनले रोजगारी सिर्जनाका लागि निजी क्षेत्र प्रमुख जिम्मेवार अभिनेता भएको उल्लेख गर्दै औद्योगिक नीतिहरू सहज बनाउनु पर्ने बताए। नेपालको कुल रोजगारीमध्ये ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरिरहेको तथ्यांक प्रस्तुत गर्दै उनले नीतिगत अस्पष्टता, अनावश्यक झन्झट र अस्थिरताका कारण लगानीकर्ताहरू निरुत्साहित हुने अवस्था आउन नदिन सरकार संवेदनशील हुनुपर्ने बताए।

नेपाल सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवद्र्धन दशक को रूपमा घोषणा गरिसकेको छ। यसलाई सार्थक बनाउन उत्पादन र उत्पादकत्व बढाउने रणनीति आवश्यक रहेको ढकालको भनाइ छ। सरकार र निजी क्षेत्रको सहकार्य बिना औद्योगिक विकास सम्भव नरहेको भन्दै उनले रोजगारदाता र श्रमिकबीच सुमधुर सम्बन्ध आवश्यक रहेको बताए।

उनले महासंघको पहलमा संसदबाट पारित विभिन्न श्रम र उद्योगसम्बन्धी कानून सकारात्मक भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि नियमावली र कार्यविधि छिट्टै ल्याउन सरकारलाई आग्रह गरे।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी सिर्जना गर्न उद्यमशीलताको विकास अपरिहार्य रहेको बताए। उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको उल्लेख गर्दै “आन्तरिक रोजगार प्रवद्र्धन दशक २०८१” तथा “आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रम २०८१” को औपचारिक शुभारम्भ गरे।

दुई दिने सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा लगायतले नेपालको श्रम बजार, रोजगारीको अवसर र आगामी रणनीतिबारे धारणा राखेका छन्।

सम्मेलनमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, महिला उद्यमी महासंघ नेपालका प्रतिनिधिहरू तथा विकास साझेदार संस्थाहरूको उपस्थिति रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ