काठमाडौँ, फागुन २६ – जलवायु परिवर्तनको प्रभावले नेपालका हिमतालहरू उच्च जोखिममा परेका छन्। तापक्रम वृद्धिको कारण हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्, जसले गर्दा हिमतालहरूको सतह बढ्दै गएको छ। वैज्ञानिक अध्ययनहरूका अनुसार यी तालहरू जुनसुकै बेला फुट्न सक्ने अवस्थामा पुगेका छन्, जसले हिमाली तथा तल्लो तटीय क्षेत्रलाई गम्भीर खतरा निम्त्याउने सम्भावना छ।
हालै भारतको उत्तराखण्डस्थित चमोली क्षेत्रमा भएको हिमताल बिस्फोटले ठूलो जनधनको क्षति पुर्याएको छ। नेपालमा पनि यसअघि विभिन्न हिमतालहरू फुट्ने घटनाले ठूलो विपत्ति निम्त्याइसकेको छ। उदाहरणका लागि, गत वर्ष सोलुखुम्बुको थेआन्बो हिमताल फुट्दा नाम्चे बजार आसपासका बस्तीहरूमा बाढीले विनाश निम्त्याएको थियो।

नेपालका प्रमुख जोखिमयुक्त हिमताल
नेपालका विभिन्न हिमतालहरू उच्च जोखिमको सूचीमा परेका छन्। तीमध्ये त्सो रोल्पा, इम्जा, होङ्गु, तल्लो बरुण लगायतका हिमतालहरू पटक-पटक चर्चामा आएका छन्। हालै गरिएको एक अध्ययन अनुसार कर्णाली प्रदेशको डोल्पा जिल्लामा रहेको छलुगल हिमतालको आकार अघिल्लो सात वर्षको तुलनामा करिब तीन गुणा बढेको छ। सन् २०१६ मा यो ताल ३५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको थियो भने २०२३ सम्म आइपुग्दा यसको क्षेत्रफल १ लाख २६ हजार वर्गमिटर पुगेको छ।
जलवायु परिवर्तनको प्रभाव
औद्योगिक क्रान्तिपछि वायुमण्डलमा कार्बनडाइअक्साइड र अन्य हरितगृह ग्यासहरूको मात्रा तीव्र रूपमा वृद्धि हुँदै आएको छ। यी ग्यासहरूकै कारण पृथ्वीको तापक्रम बढिरहेको छ, जसको प्रत्यक्ष असर हिमालय क्षेत्रमा परिरहेको छ। तापक्रम वृद्धिले हिमनदीहरू पग्लेर तालहरू विस्तार हुने क्रम तीव्र बनेको छ।
हिमतालहरू पानीको मुख्य स्रोत भएकाले तिनीहरूलाई जोगाउनु अत्यावश्यक छ। तर, तीव्र रूपमा तिनीहरूको विस्तार भई जोखिम बढ्दै जाँदा सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ। वैज्ञानिकहरूले हिमतालहरूको पानीको सतह नियन्त्रण गर्न, पूर्वानुमान प्रणाली विकास गर्न तथा प्रभावकारी व्यवस्थापन रणनीति अवलम्बन गर्न सुझाव दिएका छन्।
नेपाल सरकारले जलवायु परिवर्तनका असरहरूबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएको छ। संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई ‘अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष’का रूपमा मनाउने घोषणा गरेको छ, जसको अवसरमा नेपाल सरकारले २०८२ जेठमा ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारी गरिरहेको छ।