+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

लुम्बिनीमा शान्तिको प्रतीकस्वरूप ७ हजार दीप प्रज्वलन

जनवाच
१ महिना अगाडी

भैरहवा । शान्ति, सद्भाव र आध्यात्मिक चेतनाको अभिवृद्धि गर्न बुद्धजन्मस्थल लुम्बिनीमा ७ हजार दीप प्रज्वलन गरिएको छ । चौथो त्रिपिटक पाठ समारोहको समापनसँगै शनिबार साँझ लुम्बिनी स्क्वायरको केन्द्रीय नहर क्षेत्रमा दीप प्रज्वलन गरिएको हो ।

धम्मकाय फाउण्डेशनको आयोजनामा भिक्षु, भिक्षुणी, लामा गुरु, आनी तथा पाँच सय जना अल्पकालीन प्रव्रजित भिक्षुहरूको सहभागितामा दीप प्रज्वलन गरिएको थियो । नेपालका राष्ट्रिय झण्डालाई केन्द्रभाग मानेर धम्मचक्रको आकारमा दीप सजाइएको थियो । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थविरले दीप प्रज्वलन शुभारम्भ गरेका थिए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धभूमिमा गरिएको यस्तो आध्यात्मिक क्रियाकलापले विश्वशान्तिको सन्देश फैलाउने बताए । उनले बुद्धका उपदेशहरूलाई प्रचारप्रसार गर्न यस्ता धार्मिक गतिविधिहरू आवश्यक रहेकोमा जोड दिए ।

थाईधम्मकायका सल्लाहकार डा. अदिसकले दीप प्रज्वलनको महत्व प्रस्ट्याउँदै यसले आन्तरिक तथा बाह्य ज्ञानको प्रतीकात्मक अभिव्यक्ति गरेको उल्लेख गरे । त्यस्तै, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यले दीपको उज्यालोले जस्तै बुद्धका उपदेशहरूले पनि अज्ञानताको अन्धकार चिर्दै जाने बताए ।

कार्यक्रममा प्रसिद्ध गायिका देविका बन्दनाले बुद्धसम्बन्धी भक्ति गीत प्रस्तुत गरेकी थिइन् । यसअघि गत वर्ष पनि लुम्बिनीमा यस्तै दीप प्रज्वलन गरिएको थियो । आयोजकहरूका अनुसार आगामी वर्षहरूमा अझ भव्य रूपमा कार्यक्रम आयोजना गरिनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ