काठमाडौं — वित्तीय रूपमा कमजोर स्थिति रहेको दोर्दीखोला हाइड्रोपावर कम्पनीले आफ्नो आर्थिक अवस्था सुदृढ बनाउन शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले चैत १९ गतेदेखि हकप्रद सेयर जारी गर्दैछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ, र हकप्रदबाट पनि सोही रकम उठाउने लक्ष्य लिएको छ। यसबाट प्राप्त रकम दीर्घकालीन ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ।
हाल दोर्दीखोला हाइड्रोपावर विभिन्न बैंकहरूसँग १ अर्ब ७४ करोड रुपैयाँ ऋणमा रहेको छ। हकप्रद सेयरबाट उठ्ने रकमले पनि पूरै ऋण चुक्ता नहुने देखिएको छ। फागुन १४ गतेसम्म कायम रहेका सेयरधनीहरूले मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्।
पछिल्लो वित्तीय प्रतिवेदन अनुसार, कम्पनी पुस मसान्तसम्म ८० लाख ७० हजार रुपैयाँ नोक्सानीमा छ। प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ५३ पैसा मात्र छ भने वार्षिक प्रतिसेयर आम्दानी ऋणात्मक रूपमा १ रुपैयाँ ५३ पैसा रहेको छ।
धितोपत्र बोर्डको स्वीकृति लिएर हकप्रद निष्कासन गर्न लागेको कम्पनीले सेयरधनीहरूलाई थप लगानीका लागि आह्वान गरे हो ।