काठमाडौँ – निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले सुदूरपश्चिम र कर्णाली प्रदेशमा हवाई सेवाको सम्भावना अध्ययन गर्न परीक्षण उडान सम्पन्न गरेको छ। शनिबार धनगढी र सुर्खेत विमानस्थलमा गरिएको परीक्षण उडान सफल भएको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
यती एअरलाइन्सको एटीआर ७२ सिरिजको विमान (९एन–एएमएन) नेपालगञ्ज विमानस्थलबाट उडान भरी कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलमा दिउँसो १२:१५ बजे अवतरण गरेको थियो। त्यसपछि सोही विमान धनगढी विमानस्थलमा दिउँसो १:३० बजे सफलतापूर्वक अवतरण गरियो।
यती एअरलाइन्सले धनगढी र सुर्खेत विमानस्थललाई वैकल्पिक हवाई मार्गको रूपमा विकास गर्ने लक्ष्यसहित परीक्षण उडान गरेको जनाएको छ। कम्पनीले निकट भविष्यमै यी गन्तव्यहरूमा नियमित व्यावसायिक उडान गर्ने तयारी गरिरहेको छ।
उक्त परीक्षण उडान यती एअरलाइन्सका प्रशिक्षक पाइलट क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले सञ्चालन गरेका थिए। उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू, यती एअरलाइन्सका प्राविधिक तथा प्रतिनिधिहरूको टोली समेत उपस्थित थियो।