काठमाडौं फागुन २३ – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको गरुडा–शिवनगर क्षेत्रमा नियमविपरीत सञ्चालन भएका १० वटा निजी अस्पताल बन्द गर्न कडा निर्देशन दिएका छन्।
बिहीबार साँझ गरुडा र शिवनगर क्षेत्रमा छड्के अनुगमन गर्दै मुख्यमन्त्री सिंहले मापदण्ड पूरा नगरी सञ्चालित अस्पतालहरू बन्द गर्न र आवश्यक प्रक्रिया पूरा नगरेसम्म सञ्चालन नगर्न चेतावनी दिएका हुन्।
मुख्यमन्त्री सिंहको निर्देशनपछि आनन्द अस्पताल एक्यूपन्चर सेन्टर, अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति हस्पिटल, होप हस्पिटल लगायतका अस्पतालमा तालाबन्दी गरिएको छ।
“मापदण्ड पूरा नगरेका अस्पतालहरूमार्फत बिरामी ठग्ने, अत्यावश्यक सेवा प्रदान नगर्ने र अस्पताल सञ्चालनको आधारभूत आवश्यकतासमेत पूरा नगर्ने प्रवृत्ति बढेको छ,” मुख्यमन्त्री सिंहले भने।
मुख्यमन्त्री सिंहको अनुगमन टोली आउन लागेको सूचना पाएलगत्तै धेरै अस्पतालका सञ्चालकहरू अस्पताल छोडेर भागेका थिए। झोले अस्पतालका रूपमा कुख्यात सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति हस्पिटलका सञ्चालकहरू अस्पताल बन्द गरेर फरार भएका थिए।
विशेष गरी आनन्द अस्पतालका सञ्चालक एवं कथित डाक्टर उमेश प्रसाद साह अनुगमन टोली पुग्ने बित्तिकै अस्पताल छोडेर भागेका छन्।
मुख्यमन्त्री सिंहका अनुसार आनन्द अस्पतालले २५ बेडको अनुमति लिएर ६० भन्दा बढी बेड राखेको, एउटा भवनमा मात्र अस्पताल सञ्चालन गर्ने अनुमति लिएर तीन वटा भवनमा सञ्चालन गरेको, अस्पताल सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा नगरेको पाइएको छ।
त्यसैगरी, गरुडा नगरपालिकाले कानुनविपरीत २५ शैय्याको अनुमति दिएको देखिएकाले नगरपालिकाका जिम्मेवार निकायमाथि पनि छानबिन हुने बताइएको छ।
मुख्यमन्त्री सिंहले यसअघि पनि चन्द्रनिगाहपुर क्षेत्रमा अनुगमन गर्दै १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका थिए। पछिल्लो समय रौतहटमा मापदण्डविपरीत सञ्चालन हुने अस्पतालहरूको संख्या बढ्दै गएको र त्यसले सर्वसाधारणलाई ठगिरहेको गुनासो आएपछि सरकारले कडा कदम चालेको हो।
रौतहट जिल्लामा धेरै निजी अस्पतालहरू दर्ता नै नगरी सञ्चालनमा रहेको, पर्याप्त पार्किङ सुविधा नभएको, गुणस्तरीय सेवा नदिएको, दक्ष जनशक्ति बिना सञ्चालनमा रहेको पाइएको छ। मुख्यमन्त्री सिंहले यस्ता अस्पतालहरूलाई कारबाही गर्दै निष्कासन गर्ने नीति अपनाउने बताएका छन्।