काठमाडौं, फागुन २३ । एभरेस्ट बैंकले बिक्री खुला गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। इच्छुक लगानीकर्ताले आज शुक्रबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरको ३० लाख इकाई ऋणपत्र जारी गरेको छ। यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। सर्वसाधारणका लागि छुट्याइएको इकाईमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।
बैंकले ‘एभरेस्ट बैंक डिबेन्चर २०९१’ नामक यो ऋणपत्र १० वर्ष अवधिका लागि जारी गरेको हो। यसमा वार्षिक ७.५० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ।
उक्त ऋणपत्रको बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिहरूले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।