काठमाडौं, फाल्गुण २३ – काठमाडौंको शंकरापुर नगरपालिका–६, सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरूको आश्रयस्थलमा टिपर पसेर दुई बालबालिका र एक वृद्धको दुखद निधन भएको छ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गर्दै आएको आश्रयस्थलमा आज बिहान ३:४० बजे बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई टहराभित्र छिरेको थियो। सो दुर्घटनामा परी दुई बालबालिका आकाश र सुमनको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका वृद्ध हरिजनको अस्पतालमा उपचारका क्रममा निधन भएको आश्रयस्थलका संस्थापक अध्यक्ष युवराज थापाले जानकारी दिए।
प्रहरीका अनुसार घाइतेहरूलाई तत्काल नेपाल मेडिकल कलेज, अत्तरखेल जोरपाटी लगिएको थियो। अस्पतालका चिकित्सकले बिहान ४:३३ बजे मृत घोषणा गरेका थिए।
दुर्घटना गराएको सिन्धुपाल्चोकका २५ वर्षीय टिपर चालक सागर माझीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ। हाल घटनाको अनुसन्धान भइरहेको छ।
सीभीडीएसले २०६२ सालदेखि सलम्बुटारमा बेवारिसे बालबालिकाका लागि आश्रयस्थल सञ्चालन गर्दै आएको छ। त्यहाँ हाल ६१ जना आश्रित छन्। दुर्घटनाको समयमा १० जना रहेको टहरामा टिपर पसेको थियो।