+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

आयात प्रतिस्थापन र रोजगारी सृजनातर्फ ठूलो फड्को: नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा

नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजको उद्घाटनसँगै नेपालले औद्योगिकरणतर्फ ठोस कदम चालेको छ। यसले स्वदेशी उद्योग प्रवद्र्धन गर्दै दीगो आर्थिक विकासको दिशामा देशलाई अघि बढाउने छ।

जनवाच
१ महिना अगाडी

काठमाडौँ— नेपाल अब कागज उत्पादनमा आत्मनिर्भर हुने यात्रामा अगाडि बढ्दैछ। नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रालिको उद्घाटनसँगै देशको औद्योगिक विकासमा नयाँ आयाम थपिएको छ। आइएमई ग्रुपको अग्रसरतामा स्थापित यस उद्योगले दैनिक ७५ मेट्रिक टन गुणस्तरीय कागज उत्पादन गर्नेछ, जसले कागज आयातमा निर्भरता घटाउँदै आयात प्रतिस्थापनको अभियानलाई बल दिनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उद्घाटन भएको यस उद्योगले पुनःप्रयोगमा आधारित उत्पादन प्रणाली अवलम्बन गरेको छ। घर तथा अफिसमा प्रयोगपछि फालिएका कागज पुन: प्रशोधन गरेर नयाँ कागज उत्पादन गरिने भएकाले यो वातावरणमैत्री उद्योगका रूपमा स्थापित हुनेछ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार यो उद्योग स्वदेशी स्रोतसाधनको उपयोग गर्दै औद्योगिकीकरणतर्फको महत्वपूर्ण कोसेढुंगा सावित हुनेछ। “हामीले मुलुकको आर्थिक समृद्धिमा योगदान दिने उद्देश्यसहित यस उद्योग स्थापना गरेका हौँ। हाम्रो लक्ष्य केवल व्यवसाय मात्र नभई आत्मनिर्भरता, रोजगारी सिर्जना र दीगो विकासलाई अघि बढाउनु हो,” ढकालले उद्घाटन समारोहमा भने।

रोजगारी सिर्जना र आर्थिक गतिशीलता

२ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण सम्पन्न भएको यस उद्योगले प्रत्यक्ष रूपमा ३०० भन्दा बढी तथा अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी दिनेछ। विशेष गरी स्थानीय जनशक्तिको उच्च सहभागिता रहने बताइएको छ। उद्योगमा ५०% भन्दा बढी स्थानीय र महिलाहरूलाई रोजगारी दिने नीति अवलम्बन गरिनेछ, जसले महिला सशक्तीकरणमा समेत टेवा पुर्याउनेछ।

आयात प्रतिस्थापन र स्वदेशी उत्पादनको प्रवद्र्धन

नेपालमा हाल कागज तथा कागजजन्य उत्पादनका लागि वार्षिक १२ अर्ब रुपैयाँभन्दा बढीको आयात भइरहेको छ। भारत, चीन, जर्मनी, अमेरिका, थाइल्यान्ड, इन्डोनेसिया र बंगलादेशबाट नेपालमा कागज आयात हुँदै आएको छ। उद्योग सञ्चालनमा आएसँगै नेपालले ठूलो परिमाणमा कागज उत्पादन गर्न सक्ने भएकाले आयात घट्ने अपेक्षा गरिएको छ।

हरित उद्योगको अवधारणा

उद्योगले उत्पादन प्रक्रियामा वातावरणमैत्री प्रविधि प्रयोग गरेको छ। वायु प्रदूषण कम गर्नका लागि पीसीसी प्लान्ट जडान गरिएको छ, जसबाट प्रेसिपिटेड क्याल्सियम कार्बोनेट उत्पादन हुने र कागज निर्माणमै पुनः प्रयोग गरिनेछ। यस्तै, उद्योगबाट निस्कने पानी प्रशोधन गरी पुनः प्रयोग गरिने भएकाले जल प्रदूषण नियन्त्रणमा समेत मद्दत पुग्नेछ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले मुलुकमा लगानीमैत्री वातावरणको खाँचो रहेको औंल्याए। उनले पछिल्ला कानुनी सुधारहरूप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै लगानीमैत्री नीतिहरू कार्यान्वयनमा थप स्पष्टता आवश्यक रहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ