+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

पोर्चुगलस्थित नेपाली दूतावासमार्फत कन्सुलर सेवा सुरु हुने तयारी

नेपाली समुदायले लामो समयदेखि माग गरेको राजदूतावास सेवा अन्ततः सञ्चालन हुने चरणमा पुगेको छ, जसले प्रवासमा रहेका हजारौं नेपालीलाई सहजता प्रदान गर्नेछ।

जनवाच
१ महिना अगाडी

लिस्बन – पहिलोपटक स्थापना गरिएको पोर्चुगलस्थित नेपाली राजदूतावास आगामी मार्च तेस्रो सातादेखि औपचारिक रूपमा कन्सुलर सेवा सुरु गर्ने तयारीमा रहेको छ। नेपाली समुदायको बहुप्रतीक्षित सेवा सुरु हुने प्रक्रिया अन्तिम चरणमा पुगेको दूतावासले जनाएको छ।

नेपाल सरकारद्वारा स्थापना गरिएको सबैभन्दा नयाँ नेपाली दूतावास लिस्बनमा संचालनमा आउन लागेको हो। दूतावासका उपनियोग प्रमुख रामबाबु नेपालका अनुसार, परराष्ट्र मन्त्रालयमा सहप्रमाणीकरणको प्रक्रिया अघि बढिसकेको छ। “स्वीकृति प्राप्त हुनेबित्तिकै आफ्नै मातहतबाट सेवा सुरु गर्छौं,” उनले भने।

दूतावासले मार्च दोस्रो सातासम्म सबै प्रक्रिया पूरा हुने अपेक्षा राखेको छ। उपनियोग प्रमुख नेपालका अनुसार, कम्तीमा मार्च २० बाट औपचारिक रूपमा सेवा दिन थाल्ने तयारी छ।

हाल दूतावासका लागि भवन भाडामा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। “हामीले भारतीय, पाकिस्तानी र बंगलादेशी दूतावास नजिकै सुविधाजनक स्थान खोजिरहेका छौं,” नेपालले बताए। सम्झौतामा औपचारिक हस्ताक्षर भने अझै बाँकी छ।

पोर्चुगलमा रहेका नेपालीहरूका लागि आफ्नै दूतावासमार्फत सेवा लिन पाउनु निकै खुशीको कुरा भएको छ। हालसम्म नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली दूतावासमार्फत कन्सुलर सेवा लिनुपर्ने बाध्यता थियो। अब भने राहदानी नवीकरणदेखि कागजात प्रमाणीकरणसम्मका सेवा लिस्बनमै उपलब्ध हुनेछन्।

दूतावासमा हाल राजदूतसहित चार जनाको दरबन्दी छ। नेपालका पहिलो राजदूत प्रकाशमणि पौडेल एक साताभित्रै लिस्बन आइपुग्ने र औपचारिक रूपमा कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ