काठमाडौं, फागुन २२ – नेपालको आर्थिक तथा व्यावसायिक सुधार र लगानी प्रवर्धनलाई मजबुत बनाउन प्रतिनिधि सभाले नयाँ अध्यादेश पारित गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत ‘आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८१’ बुधबार प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएको हो।
सांसद रणेन्द्र बरायलीले उक्त अध्यादेश अस्वीकृत गरिनु पर्ने प्रस्ताव राखेका थिए। तर, उनको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि सभामुखले अध्यादेश पारित गर्ने निर्णयार्थ प्रस्तुत गरेका थिए।
यसअघि निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ पनि बहुमतले स्वीकृत भएका थिए।
सरकारले पारित गरेका यी विधेयकहरू आर्थिक सुधार, निजीकरण, लगानी अभिवृद्धि तथा सुशासन प्रवर्धनका लागि महत्वपूर्ण मानिएका छन्। अब लागू हुने कानुनी संरचनाले आर्थिक गतिविधि सहज बनाउने र लगानीकर्ताका लागि अनुकूल वातावरण सिर्जना गर्ने सरकारको विश्वास छ।