काठमाडौं, फागुन २२ – नेपाली महिला क्रिकेट टिम युगान्डामा आयोजना हुने चार देशीय टी-२० सिरिज खेल्न आज त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले विशेष समारोह आयोजना गर्दै टिमलाई बिदाई गरेको हो। बिदाई कार्यक्रममा क्यानका सचिव पारस खड्कालगायत अधिकारीहरूले खेलाडीहरूलाई सफलताको शुभकामना दिएका थिए।
कप्तान इन्दु बर्माको नेतृत्वमा १४ सदस्यीय नेपाली टोली युगान्डा प्रस्थान गरेको छ। टिममा विन्दु रावल, रिया शर्मा, सम्झना कुमारी खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, रुबिना क्षेत्री, अलिसा कुमारी यादव, रोमा थापा, रचना चौधरी, सना प्रवीन र ईश्वरी विष्ट छन्।

नेपाली टोलीले युगान्डा, हङकङ र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। मार्च ८ देखि १६ सम्म सञ्चालन हुने सिरिजमा नेपालले आफ्नो पहिलो खेल नामिबियासँग मार्च ८ मा खेल्नेछ। त्यसपछि मार्च ९ मा युगान्डा, मार्च १० मा हङकङ, मार्च १२ मा पुनः नामिबिया, मार्च १३ मा युगान्डा र मार्च १४ मा हङकङविरुद्ध खेल्नेछ।
लिग चरणका खेलहरू सकिएपछि मार्च १६ मा शीर्ष दुई टोली फाइनलमा भिड्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीबीच पनि छुट्टै खेल हुनेछ। नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्य राखेको छ।