काठमाडौं, फागुन २१ – आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण प्रक्रियालाई अघि बढाउँदै अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल सुरु गरेको छ। यसै क्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यसअन्तर्गतका विभागहरूसँग विस्तृत परामर्श गरेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेट अनुशासित र यथार्थपरक हुने स्पष्ट पार्दै कार्यान्वयनमै समस्या आउने खालका कार्यक्रमहरू समेट्न नदिने बताएका छन्। ‘यथार्थपरक बजेट आउँदा बीचमा रकमान्तर वा संशोधनको आवश्यकता पर्दैन,’ उनले भने।
संघीय संरचनाअनुसार बजेट निर्माणमा विशेष ध्यान दिइने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए। ‘बजेट निर्माणमा सबै मन्त्रालय र निकायको अपनत्व हुनुपर्छ,’ उनको भनाइ छ।
विपद् पुनर्निर्माणलाई प्राथमिकता, अक्षम योजनामा रोक
अर्थमन्त्री पौडेलले अनावश्यक तथा कार्यान्वयन हुन नसक्ने आयोजनाहरूलाई रोक्दै अत्यावश्यक योजनामा मात्रै बजेट केन्द्रित गर्नुपर्ने बताए। ‘छरिएर रहेका साना आयोजनाहरू रोक्नुपर्छ, गुणस्तरीय र कार्यान्वयनयोग्य योजना मात्र अघि बढाउनु पर्छ,’ उनले जोड दिए।
त्यस्तै, विपद् पछिको पुनर्निर्माणलाई प्राथमिकता दिइने भन्दै उनले बजेटको सिलिङभित्र रहेर ठोस योजनाहरू प्रस्ताव गर्न निर्देशन दिए।
समीक्षासँगै बजेट निर्माण अघि बढ्दै
बजेट निर्माणमा सुधार ल्याउने उद्देश्यसहित गरिएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, भौतिक पूर्वाधार सचिव केशवकुमार शर्मा लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।