+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सीमामा कडाइको अभावले अवैध विद्युतीय स्कुटर आयात बढ्दो, सरकार बेखबर !

जनवाच
१ महिना अगाडी

नेपालमा ३५० वाटभन्दा बढी क्षमताका विद्युतीय स्कुटरहरू आयात गर्दा अनिवार्य रूपमा भन्सार प्रक्रिया पूरा गर्नुपर्ने र यातायात कार्यालयमा दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ। तर, पछिल्लो समय भारतसँगको खुला सिमाना प्रयोग गरी विशेष गरी सुनौली नाका हुँदै ठूलो संख्यामा बिना भन्सार स्कुटर नेपाल भित्र्याइएको तथ्य फेला परेको छ।

सीमावर्ती क्षेत्रबाट भित्रिरहेका यस्ता स्कुटरहरू भारतका व्यवसायीहरूले नेपाली ग्राहकलाई आकर्षित गर्न विशेष रणनीति अपनाइरहेका छन्। भारतको “CYP e Rides” नामक पसलले नेपाली कर्मचारी राखेर नेपाली भाषामा टिकटक भिडियोहरू बनाएर प्रचार गर्दै “भन्सार तथा दर्ता नगरी चलाउन मिल्ने” दाबी गर्दै स्कुटर बिक्री गरिरहेको छ। सस्तो मूल्यको लोभमा परेका धेरै नेपालीले यस्ता स्कुटर खरिद गरिरहेका छन्।

भन्सार नतिरी भित्रिएका सवारीसाधनले नेपाल सरकारको राजस्व संकलनमा गम्भीर असर पुर्‍याइरहेका छन्। सवारीसाधन आयात नेपाल सरकारका प्रमुख कर स्रोतहरूमध्ये एक हो। कानुनी रूपमा कर तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूलाई पनि यस्ता अवैध स्कुटरहरूले प्रतिस्पर्धाबाट पछाडि धकेलिरहेको छ।

सरकारका सम्बन्धित निकायहरू भने यस्तो गम्भीर समस्याप्रति अनभिज्ञ देखिन्छन्। भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले हालसम्म यस्ता स्कुटरबारे कुनै आधिकारिक जानकारी नभएको बताए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार उजुरी परेमा मात्र छानबिन अघि बढाइनेछ। ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीले हालसम्म नियमित जाँचमा यस्ता स्कुटर फेला नपरेको जानकारी दिइन्।

यस्ता अवैध स्कुटरहरू मुख्य रूपमा ग्रामीण क्षेत्रमा बढी बिक्री भइरहेको हुनसक्ने अनुमान गरिएको छ। गाउँमा ट्राफिक प्रहरीको निगरानी कम हुने भएकाले बिना भन्सारका सवारीसाधनहरू सजिलै चलाइरहेका छन्।

सम्बन्धित निकायहरूले सीमा नाकामा कडाइ नगर्ने हो भने अवैध स्कुटरहरूको कारोबार झन् बढ्नेछ। सरकारको राजस्व प्रणालीमा गम्भीर असर पर्ने मात्र नभई कानुनी रूपमा व्यापार गरिरहेका व्यवसायीहरूलाई पनि गम्भीर चुनौती उत्पन्न हुनेछ। समयमै ठोस कदम नचालिए अवैध आयातका कारण नेपालमा सवारीसाधन बजार नै अनियन्त्रित हुने सम्भावना देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ