काठमाडौं, फागुन २०। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीको वातावरण सुधार्नका लागि नीतिगत सुधारको आवश्यकता रहेको धारणा व्यक्त गर्दै महासंघको प्रयास निरन्तर जारी रहने बताएका छन्।
सोमबार महासंघमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीका लागि प्रशस्त सम्भावनाहरू रहेको उल्लेख गर्दै ती सम्भावनाहरूलाई अवसरमा बदल्नका लागि सकारात्मक दृष्टिकोण र उपयुक्त वातावरण आवश्यक रहेको बताए।
“हामीकहाँ प्रायः हरेक विषयलाई नकारात्मक दृष्टिकोणबाट हेर्ने गरिएको छ, तर सकारात्मक सोचका साथ भने स्वदेशमा विभिन्न सम्भावनाहरू छन् जसबाट रोजगार सिर्जना गर्न सक्छौं,” ढकालले भने।
उनले महासंघको नेतृत्वमा १० अर्ब रुपैयाँ पूँजीको लिमिटेड कम्पनी स्थापना गरी सानो–सानो लगानीबाट पूँजी निर्माण र पूर्वाधारको विकास गर्ने काम भइरहको जानकारी पनि दिएका छन्।
यस अवसरमा महासंघका उपाध्यक्षहरू हेमराज ढकाल र सुरकृष्ण वैद्यले महासंघले विभिन्न वस्तुगत संघहरूको समस्यामा निरन्तर पहल गर्दै आएको बताएका थिए भने, एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि वस्तुगत संघहरूलाई थप सकृय बनाउनुपर्ने उल्लेख गरिन्।
कार्यक्रमको दौरान, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा महासंघले तयार गरेको कार्य सञ्चालन विधि र कार्यस्थलमा आधारित तालिम सञ्चालन निर्देशिकाको विमोचन समेत गरिएको थियो।
