काठमाडौँ । प्रविधिको युगमा शिक्षण पद्धति कस्तो हुनुपर्छ भन्ने विषयमा गहन छलफल गर्दै नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को २९औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
तीन दिनसम्म चलेको सम्मेलन हात्तिवनस्थित लिटिल एन्जल्स स्कूलमा आयोजना गरिएको थियो। सम्मेलनमा प्रविधि र शिक्षणको सन्तुलन, अंग्रेजी भाषा शिक्षणमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभाव, शिक्षक सशक्तीकरण, पठन तथा लेखन सीप सुधारका विषयमा विविध प्रस्तुति तथा छलफल भएका थिए।
नेल्टा अध्यक्ष प्रा. डा. लक्ष्मण ज्ञवालीका अनुसार, प्रविधि र मानिसबीचको अन्तरक्रियालाई शिक्षणमा कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषय सम्मेलनको केन्द्रबिन्दु बनाइएको थियो। उनले सम्मेलनबाट उठेका निष्कर्ष तथा सुझावहरू शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरिने जानकारी दिए।
सम्मेलनमा एआई र शिक्षकको भूमिकामाथि विशेष छलफल भयो। प्रमुख वक्ता नीनाज इचापोरियाले “एआईको युगमा अंग्रेजी भाषाको भविष्य” विषयमा बोल्दै, प्रविधिको विवेकशील प्रयोग आवश्यक रहेको बताइन्। उनले एआईको उपयोग गर्दा पूर्वाग्रह, गलत डेटा र समावेशी शिक्षाका चुनौतीहरूप्रति सचेत रहनुपर्ने धारणा राखिन्।
त्यस्तै, प्रा. डा. तिर्थराज खनियाँले “के एआई अंग्रेजी शिक्षकको विकल्प हुन सक्छ?” भन्ने विषयमा प्रस्तुति दिँदै, प्रविधिको भरपुर उपयोग गर्नुपर्ने तर शिक्षणमा मानवीय सम्पर्कलाई प्राथमिकता दिनुपर्ने बताए।
सम्मेलनमा नेपाल, अमेरिका, भारत, बंगलादेश, श्रीलंका, जापान, थाइल्यान्ड, जर्मनीलगायत २२ देशका करिब ८०० शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो। सम्मेलनमा २०० भन्दा बढी अनुसन्धानमूलक प्रस्तुति भएका थिए।
यूएसका रोजर एफ कोहेन, भारतका जुम्बरलाल पटिल र नेपालका चन्द्र कान्त भूसालले शिक्षण पद्धतिलाई प्रभावकारी बनाउन आफ्ना विचारहरू राखे। त्यस्तै, कनिता रिद्वाना, लशाना नान्दकुमारन, अंखजाया बातसूरीजस्ता शिक्षाविद्हरूले विद्यार्थीको लेखनशैली सुधारका लागि अपनाउन सकिने नवीनतम रणनीतिहरू प्रस्तुत गरे।
नेल्टा प्रादेशिक गोष्ठीमा सातै प्रदेशका प्रतिनिधिहरूले अंग्रेजी भाषा शिक्षणमा नवीनतम प्रयास, सामाजिक न्यायमा आधारित शिक्षण विधि, शिक्षक सशक्तीकरणलगायतका विषयमा छलफल गरे।