काठमाडौँ,च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। शनिबार सम्पन्न खेलमा इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका अन्तिम चारमा प्रवेश गरेको हो।
इंग्ल्याण्डले प्रस्तुत गरेको १८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेट गुमाएर सहजै पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ३८.२ ओभरमा अलआउट हुँदै १७९ रनमा सीमित भएको थियो।
समूह ‘बी’ बाट दक्षिण अफ्रिका ३ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै, अष्ट्रेलिया ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको छ। यस समूहबाट अफगानिस्तान र इंग्ल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएका छन्।
अब समूह चरणको अन्तिम खेल आइतबार समूह ‘ए’ अन्तर्गत भारत र न्यूजील्याण्डबीच हुनेछ। यस खेलले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ। समूह ‘ए’ बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन्, भने पाकिस्तान र बंगलादेश बाहिरिएका छन्।