काठमाडौँ – रुपन्देहीको मायादेवी–२ महदेवा (डङ्गचाहावाका) २९ वर्षीय राकेश सिंह लोध (राजु)को हत्या गोली प्रहारबाट भएको छ। शुक्रबार राति घरमै एक्लै बसिरहेका राजु लोध माथि गोली प्रहार भएको र घटनास्थलमै उनको मृत्यु भएको स्थानीयले बताएका छन्। शुक्रबार राति घरको बरन्डामा मृत अवस्थामा भेटिएका राजु लोधको शरीरमा गोलीको प्रहार स्पष्ट देखिएको थियो। प्रहरीका अनुसार, उनको टाउको र निधारमा गोली लागेको थियो। बिहान ८ बजेको समयमा प्रहरीलाई घटनाको जानकारी प्राप्त भएपछि, घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ। शवलाई पोष्टमार्टमका लागि भैरहवा स्थित भीम अस्पताल पठाइएको छ। स्थानीयको अनुसार, राजु लोधको हत्या घरायसी विवादबाट भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ। केही महिनादेखि राजु र उनका दाजु बीच जग्गा विषयमा विवाद चलिरहेको थियो। स्थानीयका अनुसार, राजुको हत्या उनका आफ्नै दाईले गरेका हुनसक्ने आशंका गरिएको छ। घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले, “शवको परीक्षण गर्दा टाउकोमा गोली लागेको र अन्य चोटहरू देखिएका छन्। हामीले घटनाको सम्बन्धमा अनुसन्धान तीव्र पारेका छौँ,” भने। हाल मृतकका दाजु दीपक लोध फरार रहेका छन् र प्रहरी उनको खोजीमा जुटेको छ।