आज, शून्य भेदभाव दिवस र समुद्री घाँस दिवस समानान्तर रुपमा मनाइँदै छ। जसले विश्वभरका समाज र पर्यावरणलाई सुधार्नका लागि महत्त्वपूर्ण संदेश दिएको छ। शून्य भेदभाव दिवसले भेदभाव, असमानता र सामाजिक अन्यायको विरुद्ध एकजुट हुँदै सबैलाई समान अधिकार र सम्मानको अडान लिन आह्वान गर्छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर शून्य भेदभाव दिवस मनाउने परंपरा सुरु भएको हो। यस दिनलाई समावेशीकरण, प्रेम, शान्ति र लैङ्गिक समानताको पक्षमा मनाइन्छ। विशेषगरी, एचआइभी एड्ससँग सम्बन्धित भेदभाव हटाउन र यसका पीडितलाई सम्मानपूर्वक व्यवहार गर्न जोड दिइन्छ। यस अवसरमा, विश्वभरका ४१ देश र अनगिन्ती साझेदारहरूले एचआइभीसँग जुद्ने संघर्षमा एकता र सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैगरी, सन् २०२२ देखि सुरु गरिएको समुद्री घाँस दिवस, समुद्रको पारिस्थितिकीय तंत्रको संरक्षणको महत्त्व र जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न केन्द्रित छ।
समुद्री घाँसले जलवायु परिवर्तनको प्रभाव कम गर्न र तटीय समुदायहरूलाई बाढी तथा आँधीबेहरी जस्ता प्राकृतिक प्रकोपबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ। यस दिवसले तटीय क्षेत्रका मानिसहरूलाई समुद्रका जैविक स्रोतहरूको महत्व र संरक्षणको आवश्यकता प्रति सचेत बनाउँछ।
यो दिवसले विश्वभरका मानिसहरूलाई एकता र सहकार्यमा बन्धनको सन्देश दिन्छ, जसबाट हामी अझ न्यायपूर्ण, समावेशी र वातावरण अनुकूल भविष्य निर्माण गर्न सक्छौं।