काठमाडौँ, फागुन १७ । च्याम्पियन्स ट्रफीको सेमिफाइनल यात्रामा अस्ट्रेलियाले स्थान सुरक्षित गरेको छ। शुक्रबार अफगानिस्तानसँगको खेल वर्षाले रद्द भएपछि अस्ट्रेलियाले १ अंक प्राप्त गर्दै समुह ‘बी’ बाट अन्तिम चारमा स्थान बनाएको हो।
अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १२.५ ओभरमा १ विकेट गुमाउँदै १०९ रन बनाएको थियो। तर वर्षाका कारण खेल अघि बढ्न नसकेपछि दुवै टिमले १-१ अंक बाँडे। यो नतिजासँगै अस्ट्रेलियाले ३ खेलबाट ४ अंक जोड्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।
अब यो समुहबाट अर्को सेमिफाइनलिस्ट को हुने भन्ने शनिबार दक्षिण अफ्रिका र इङ्ल्याण्डबीचको खेलपछि टुंगो लाग्नेछ। अफगानिस्तानले ३ खेलमा ३ अंक जोडेको छ भने दक्षिण अफ्रिका २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ।
इङ्ल्याण्ड सेमिफाइनल दौडबाट बाहिरिसकेको अवस्थामा अफगानिस्तान र दक्षिण अफ्रिका मध्ये एक टोलीले अन्तिम चारमा स्थान बनाउनेछ। तर राम्रो रनरेटका कारण दक्षिण अफ्रिकाको सम्भावना अझै बलियो देखिन्छ। यदि उनीहरूले इङ्ल्याण्डसँग हार व्यहोरे पनि रनरेटले फाइदा दिलाउन सक्छ।