काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजित छैटौं मधानी महोत्सवमा रामपालका किताब बिक्री गर्ने विषयलाई लिएर विवाद चुलिएको छ। मेलामा उनका अनुयायीहरू किताब बिक्री गरिरहेका बेला केही युवाहरूले विरोध जनाउँदै झडप गरेका छन्। मेलामा रामपालका अनुयायीहरू घुमी-घुमी उनका धार्मिक पुस्तकहरू बेच्दै थिए। तर, स्थानीय हिन्दूवादी समूहले यसलाई आपत्ति जनाउँदै उनीहरूलाई कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार झडपका क्रममा दुवै पक्षका केही व्यक्तिहरू घाइते भएका छन्। रामपालका एक अनुयायीलाई गम्भीर चोट लागेपछि उनलाई मौलापुरस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। प्रहरीले घटनामा संलग्न एक हिन्दूवादी युवालाई नियन्त्रणमा लिए पनि पछि जमानीमा रिहा गरेको छ। महाशिवरात्रिको अवसरमा शिवनगर महादेव स्थानमा लागेको मेलामा पनि रामपालका अनुयायीहरूले पुस्तक वितरण गरिरहेका थिए। सोहीक्रममा केही युवाहरूले विरोध जनाउँदा दुई पक्षबीच तनावको स्थिति उत्पन्न भएको थियो। मेलाछेउको पुलमा झडप हुनसक्ने देखिएपछि इलाका प्रहरी कार्यालय शिवनगरको टोलीले तत्काल हस्तक्षेप गरी दुबै समूहलाई तितरबितर पारेको सई बब्लुकान्त झाले जानकारी दिए। भारतमा विभिन्न आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका भारतीय नागरिक रामपाललाई उनका अनुयायीहरूले भगवानको रूपमा मान्दै आएका छन्। तर, स्थानीय युवाहरूले रामपालका पुस्तकहरूलाई भ्रम फैलाउने सामग्री भन्दै विरोध गर्दै आएका छन्।