काठमाडौं, १६ फागुन । नेपाल विद्युत प्राधिकरणले पछिल्ला वर्षहरूमा आर्थिक रूपमा उल्लेखनीय सुधार देखाएको छ। चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो ६ महिनामा मात्रै प्राधिकरणले ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ, जसले विद्युत क्षेत्रमा आत्मनिर्भरतातर्फको संकेत गर्छ।
सूचनाको हकअन्तर्गत सार्वजनिक गरिएको तथ्यांकअनुसार प्राधिकरणले यो अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य स्रोतहरूबाट गरी ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ। उता, विद्युत खरिद, प्रशासनिक खर्च तथा विभिन्न आयोजनामा ५९ अर्ब आठ करोड रुपैयाँ खर्च भएको देखिन्छ।
एक दशकअघि वार्षिक रूपमा घाटामा रहेको विद्युत प्राधिकरण पछिल्ला वर्षहरूमा नाफा आर्जन गर्दै अघि बढिरहेको छ। आर्थिक वर्ष ०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरणले आर्थिक सुधारका उपायहरू अवलम्बन गर्दै अघिल्लो वर्ष १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरिसकेको छ।
नाफामुखी बनेको प्राधिकरणले आफ्नो कमाइबाट विद्युत उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार विस्तारमा निरन्तर लगानी गरिरहेको छ। विद्युतीकरणको दायरा बढाउँदै आत्मनिर्भर ऊर्जा प्रणाली निर्माण गर्ने लक्ष्यमा प्राधिकरण अघि बढेको छ।
चालू आवको ६ महिनामा मात्र प्राधिकरणले विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा ६ अर्ब ३१ करोड युनिट विद्युत निजी तथा सहायक उत्पादक कम्पनीहरूमार्फत खरिद गरिएको छ।