काठमाडौं । अफगानिस्तानले च्याम्पियन्स ट्रफीमा सनसनीपूर्ण जित हात पारेको छ । समूह बी अन्तर्गतको खेलमा अफगानिस्तानले बलियो मानिएको इङ्ल्यान्डलाई ८ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ ।
अफगानिस्तानले प्रस्तुत गरेको ३२६ रनको लक्ष्य पछ्याउँदै इङ्ल्यान्ड ४९.५ ओभरमा ३१७ रनमै अल आउट भएपछि अफगानिस्तानले महत्वपूर्ण जित हात पारेको हो ।
इङ्ल्यान्डका जो रुटले सर्वाधिक १२० रन बनाए भने बेन डकेट र कप्तान जोस बटलरले समान ३८ रन जोडे । जामी ओभरटनले ३२ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
अफगानिस्तानका बलर अजमतुल्लाह ओमारजाई चम्किए । उनले ५ विकेट लिए भने मोहम्मद नविले २ विकेट हात पारे । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाउँदै ३२५ रन बनाएको थियो ।
अफगानिस्तानका लागि इब्राहिम जद्रानले विस्फोटक ब्याटिङ गर्दै १७७ रन प्रहार गरे । उनले १४६ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । अजमतुल्लाह ओमारजाईले ४१ रन बनाए भने मोहम्मद नवी र कप्तान हशमतुल्लाह शाहिदीले समान ४०-४० रन जोडे ।
इङ्ल्यान्डका बलरमध्ये जोफ्रा आर्चरले ३, लियाम लिभिङस्टोनले २ तथा जामी ओभरटन र अदिल राशिदले एक–एक विकेट लिए ।
यो पराजयसँगै लगातार दोस्रो खेलमा पराजित भएको इङ्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ । अफगानिस्तानले २ खेलमा २ अंक हासिल गर्दै सेमिफाइनल प्रवेशको सम्भावना जीवित राखेको छ ।