+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाज

मौलापुर मधानी महायज्ञ: धार्मिक उत्सवले नेपाल-भारत सम्बन्ध थप मजबुत

जनवाच
१ महिना अगाडी

काठमाडौँ – रौतहटको मौलापुर नगरपालिकास्थित पतौराधाममा जारी मधानी महायज्ञले धार्मिक, सांस्कृतिक तथा पर्यटनको महत्त्वलाई उजागर गर्दै नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने संकेत गरेको छ। पाँच दिनसम्म सञ्चालन हुने यस भव्य महायज्ञमा नेपाल र भारतका हजारौं श्रद्धालु भक्तजन तथा पर्यटकहरू सहभागी भएका छन्।

महायज्ञको तेस्रो दिन मंगलबार विशेष पूजाका साथ विभिन्न शिवमण्डलीहरूको प्रतिस्पर्धा आयोजना गरियो। यस्तै, बुधबार विशेष सांस्कृतिक कार्यक्रम तथा बिहीबार ऐतिहासिक प्राचीन खेल ‘मधानी दंगल’ सम्पन्न हुने छ।

मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहका अनुसार यो महायज्ञले धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनसँगै नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउने महत्त्वपूर्ण भूमिका खेल्नेछ। ‘यो महायज्ञ नेपाल-भारत सम्बन्धको सेतु बनेको छ। धार्मिक आस्थाका कारण दुवै देशका श्रद्धालुहरू यहाँ भेला भएका छन्, जसले आपसी सम्बन्धलाई अझ नजिक ल्याउनेछ,’ उनले भनिन्।

यस महायज्ञको विशेष आकर्षण भनेको भगवान शिवको ऐतिहासिक वरात यात्रा रह्यो, जुन नेपालमै पहिलो पटक पतौराधाममा निकालिएको आयोजकहरूको दाबी छ। यस अवसरमा हजारौं भक्तजनको सहभागिता रहेको थियो। वरातमा भगवान ब्रह्मा, विष्णु तथा ५६ कोटी देवता सहित बमबम कवरियाहरू र स्थानीय श्रद्धालुहरूको विशेष उपस्थिति थियो।

नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्दै पतौराधामस्थित महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने संकल्पसहित महायज्ञ सुरु गरिएको आयोजकहरूले बताएका छन्। महोत्सव उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले शिक्षा-साक्षरतासँग जोडिएका सांस्कृतिक प्रस्तुतिहरू पनि देखाए।

महायज्ञको सांस्कृतिक पक्षलाई अझ भव्य बनाउन नेपाल र भारतका चर्चित कलाकारहरूको प्रस्तुति समेत समावेश गरिएको छ। भोजपुरी तथा हिन्दी सिने जगतका चर्चित कलाकार सांसद रवि किशन, निर्देशक सनोज मिश्र, गायक तथा अभिनेता रितेश पाण्डे, निर्माता विनय बिहारी लगायत अन्य थुप्रै कलाकारहरूले विशेष प्रस्तुति दिने तयारी गरेका छन्।

यसका साथै, महाकुम्भ मेलाकी चर्चित ‘भाइरल गर्ल’ मोनालिसा, मिंटुवा भोजपुरीया, सुनील पण्डित, अनु चौधरी, सदाम हुसेन, रचना शिवाकोटी, रुद्र नारायण तिवारी, प्रिती आर्या पासवान, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बिसी, मनीषा राई लगायत नेपाल-भारतका चर्चित कलाकारहरूको सहभागिता हुने जनाइएको छ।

यस भव्य महायज्ञले धार्मिक पर्यटन प्रवर्द्धन गर्दै सुदूरपूर्वका ऐतिहासिक धार्मिक स्थलहरूको संरक्षण, प्रवर्द्धन तथा नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने आयोजकहरूको विश्वास छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ