भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं १ दुवाकोटका तीन सय ६ जना जेष्ठ नागरिकहरूले आफ्नै घरआँगनमा निःशुल्क स्वास्थ्य सेवा पाउने सौभाग्य प्राप्त गरेका छन्। सोमवार आयोजित एकदिने स्वास्थ्य शिविरमा विभिन्न परीक्षणदेखि औषधिसम्म निःशुल्क प्रदान गरिएको थियो।
चाँगुनारायण नगरपालिका, सहारा परियोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुरको साझेदारीमा दुवाकोट स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा नाक, कान, घाँटी, हाड जोर्नी, आँखा, स्त्री रोग परीक्षणका साथै सुगर र रक्तचाप जाँच गरिएको थियो। साथमा, निःशुल्क औषधि वितरण पनि गरिएको थियो।
शिविरको उद्घाटन चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री ले गरे। उनले नगरबासीको स्वास्थ्य सुधारमा नगरपालिका विशेष ध्यान दिइरहेको बताए। कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष सिजन कार्की, नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति परशु पाण्डे लगायतका व्यक्तित्वहरूले आ–आफ्ना धारणा राखे।
चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख दिलकुमार दुवाल का अनुसार यस प्रकारका स्वास्थ्य शिविर नगरभर सञ्चालन गरिने छ। यसअघि वडा नं ५, ७, र ६ मा शिविर सम्पन्न भइसकेको र बाँकी वडाहरूमा पनि क्रमशः शिविर आयोजना गरिने जानकारी दिए।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका कार्यालय प्रमुख तथा सहारा परियोजना प्रमुख उमा थापा का अनुसार घरमै सेवा पाएपछि जेष्ठ नागरिकहरू निकै खुशी भएका छन्।
शिविरमा चार जना विशेषज्ञसहित पाँचजना डाक्टर, तीन जना नर्स, स्वास्थ्य चौकीका कर्मचारी, रेडक्रस भक्तपुरका स्वयंसेवक तथा जनप्रतिनिधिहरू सहभागी थिए। घरदैलोमै यस्तो सेवा पाउनु जेष्ठ नागरिकका लागि विशेष अवसर भएको बताइन्छ।
