काठमाडौं। कलेज जीवनका संघर्ष र रोमाञ्चक घडिहरूलाई चित्रित गर्दै ‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा आयोजना गरिएको एक विशेष कार्यक्रममा ट्रेलरलाई सार्वजनिक गर्दै फिल्मको कथावस्तु र आकर्षक पक्षहरूको झलक दिइएको छ।
सशान कँडेलको निर्देशनमा बनेको यो फिल्म प्रेम, द्वन्द्व, त्याग र षड्यन्त्रका विविध पक्षलाई देखाउँदै कलेज र होस्टेल जीवनका अनुभवलाई प्रस्तुत गर्दछ। फिल्ममा पारस सँगै रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ र आशिष पुरुषजस्ता युवा कलाकारहरूको दमदार अभिनय रहेको छ।
फिल्मको कथा सशान कँडेलले लेखेका छन् भने पटकथा र संवाद माधव शर्माले तयार पारेका छन्। यस फिल्मको निर्माण सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा गरिएको हो। सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी निर्माताको रूपमा प्रस्तुत छन् भने शङ्कर कोइराला कार्यकारी निर्माताका रूपमा जोडेका छन्।
‘होस्टेल ३’ फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ, जसमा अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, हिमाल केसीको द्वन्द्व र विकास दाहालको सम्पादनका साथ पेश गरिएको छ।
यस फिल्ममा कलेज जीवनका संघर्ष र सम्बन्धका बारेमा गहिरो सोच प्रस्तुत गर्ने प्रयास गरिएको छ, जसले दर्शकलाई मात्र होइन, आगामी दिनहरूमा सामाजिक रूपमा पनि एउटा प्रभाव पार्ने विश्वास गरिएको छ।