काठमाडौं, ९ फागुन । नेपाली महिला फुटबल टिमले घरेलु मैदानमा ऐतिहासिक उपलब्धि हात पारेको छ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ मा नेपालले लगातार दोस्रो जित निकाल्दै फाइनल यात्रा तय गरेको छ ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले लेबनानलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपालका लागि निर्णायक गोल सावित्रा भण्डारीले गरिन्, जसले खेलको मोड नै परिवर्तन गर्यो।
सावित्राको निर्णायक क्षण नेपालले खेलभर आक्रामक प्रदर्शन गरे पनि गोल निकाल्न कठिनाइ भइरहेको थियो। १२ हजारभन्दा बढी दर्शकको उत्साहबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
तर, दोस्रो हाफको ८७औं मिनेटमा अट्याकिङ मिडफिल्डर विमला चौधरीको उत्कृष्ट सेटपीसमा सावित्राले गरेको प्रहार विपक्षी खेलाडी फराह इल टयारसँग डिफ्लेक्ट हुँदै जाली चुम्दा रंगशाला उल्लासित बन्यो।
फाइनलमा अब म्यानमारसँग भिडन्त यो जितसँगै नेपाल समूह चरणको खेल सकिनुअघि नै फाइनलमा प्रवेश गरेको छ। दुई खेलबाट स्पष्ट ६ अंक जोड्दै नेपाल र म्यानमारले उपाधि भिडन्त पक्का गरेका हुन्। यसअघि आजै भएको खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा तय गरिसकेको थियो।
अब नेपाल र म्यानमारबीचको महामुकाबला उपाधि निर्धारण गर्नेछ। नेपाली टिमको हालसम्मको लय हेर्दा घरेलु समर्थकको अगाडि ऐतिहासिक उपाधि जित्ने अवसर बलियो देखिन्छ।