काठमाडौं, फागुन ८ – इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले एष्टन भिल्लासँग २-२ को बराबरी खेलेर महत्वपूर्ण दुई अंक गुमाएको छ। बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले अग्रता लिए पनि भिल्लाले शानदार पुनरागमन गर्दै अंक बाँड्न बाध्य बनायो।
भिल्ला पार्कमा भएको खेलमा लिभरपुलका स्टार खेलाडी मोहम्मद सलाहले २९औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, घरेलु टोलीले पहिलो हाफमै २-१ को अग्रता लिन सफल भयो। ३८औं मिनेटमा युरी टिलेमान्सले बराबरी गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा ओली वाट्किन्सले गोल गर्दै भिल्लालाई अग्रता दिलाए।
दोस्रो हाफमा लिभरपुलले दबाब बनाएर खेल्यो र ६१औं मिनेटमा ट्रेन्ट एलेक्जान्डर अर्नोल्डको गोलमार्फत खेल बराबरीमा ल्यायो। बाँकी समयमा दुवै टोलीले थप गोल गर्न सकेनन्, जसका कारण खेल २-२ को बराबरीमा सकियो।
बराबरीपछि लिभरपुलले शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखे पनि उसको लिग लिड फराकिलो बनाउन भने सकेन। २६ खेलबाट ६१ अंक जोडेको लिभरपुल दोस्रो स्थानको आर्सनलभन्दा आठ अंकले अगाडि छ, यद्यपि आर्सनलले एक खेल कम खेलेको छ। यसैगरी, बराबरी खेलेको एष्टन भिल्ला २६ खेलबाट ३९ अंक जोड्दै नवौं स्थानमा रहेको छ।