काठमाडौं । २०८२ सालको आउदो दशैं असोज ६ गतेदेखि शुरु हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८२ को दशैं ६ गतेबाट दसैँ सुरु भएर २० गते समापन हुनेछ ।
समितिका अनुसार ६ गते सोमबार घटस्थापना स्थापित गरिनेछ भने सोही दिनबाट नवरात्र आरम्भ हुनेछ ।
यसै गरी असोज १३ गते सोमबार फूलपाती, १४ गते मंगलबार महाअष्टमी पर्व परेको छ भने सोही दिनलाई भौमाष्टमी, गोरखकाली पूजा तथा कालरात्रि पनि भनिन्छ ।
यसै गरी असोज १५ गते बुधवार महानवमी र १६ गते बिहीबार विजयादशमी अर्थात् मान्यजनबाट दशैंको टीका लगाइसकेपछि देवी विसर्जन गरिनेछ । यस्तै २० गते पूर्णिमा व्रत वा कोजाग्रत व्रत मनाएसँगै विधिवत् रूपमा दशैं सकिनेछ ।
कात्तिक २ गतेदेखि तिहार
समितिका अनुसार यसैगरी कार्तिक २ गते आइतबारबाट विधिवत् रूपमा तिहार सुरु हुनेछ । २ गते कागतिहार तथा धन्वन्तरि जयन्ती परेको छ भने ३ गते सोमबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा मनाइनेछ । सोही दिनलाई सुखरात्रि पनि भनिन्छ ।
कात्तिक ५ गते बुधवार गाई पूजा, गोरुपूजा, गोवर्धनपूजा र म्ह पूजा परेको छ भने सोही दिन नेपालसम्वत ११४६ आरम्भ हुनेछ ।
यस्तै ६ गते बिहीबार यम द्धितीया अर्थात् भाइटिका परेको छ । असोज २१ गते कार्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ ।