काठमाडौं । रायन इनर्जी प्रा.लि.ले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नविकरणीय ऊर्जा क्षेत्रका लगानीकर्ताद्वारा स्थापित दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे विद्युतीय सवारी साधनहरुको संयोजन तथा उन्नत ब्याट्री स्वाप मेकानिजम र सञ्चालन प्रणाली एकिकृत गर्ने यस कम्पनीले अर्को वर्ष आईपीओ निष्काशन गर्ने घोषणा गरेको हो ।
मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।
नारायण चौर नक्साल स्थित ग्लोबल आइएमई बैंकको शाखा कार्यालयमा आयोजित कार्यक्रममा रायन इनर्जीको तर्फबाट प्रबन्ध सञ्चालक दिपक कुमार रौनियार र ग्लोवल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे।
२००७ साल पौष महिना १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको रायन इनर्जीको केन्द्रीय कार्यालय बाग्मती नगरपालिका वडा नं १२ सर्लाहीमा रहेको छ । सोको सम्पर्क कार्यालय काठमाण्डौं रहेकोमा कम्पनीले २०७८ साल पौष महिना ०५ गते उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट विभिन्न प्रकारका इलेक्ट्रिक साधनहरु (दुई, तीन र चार पाङ्ग्रे) उत्पादन गर्नको निमित्त अनुमति प्राप्त गरेको छ ।
यस संस्था विभिन्न क्षेत्रमा अनुभवी तथा नवीकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि कार्य गर्दै आउनुभएका सक्रिय उत्साही व्यवसायीहरुको समूहद्वारा स्थापित व्यवसायिक संस्था हो ।

यस समूहले एसेम्बली प्लान्ट, नवीकरणीय ऊर्जा प्रणाली एकीकरण र वितरण, ग्रामीण तथा शहरी विद्युतीकरणको साथै सौर्य सिंचाही, पावर ब्याकअप प्रणाली एकीकरण तथा स्थापना लगायतका विभिन्न व्यावसायिक क्षेत्रमा विशेषज्ञता हासिल गरेको छ । यसले हालको बजार अवस्थाको गहिरो विश्लेषण गर्दै नेपालमा दिगो तथा स्वच्छ यातायात प्रणाली विकासमा अग्रणी स्थान हासिल गर्न सक्ने विश्वास लिएको छ ।
यस कम्पनीले नवीकरणीय ऊर्जामा आधारित दिगो यातायात प्रवर्द्धन गर्न प्रतिबद्ध रहनुका साथै बजारमैत्री विद्युतीय सवारी साधनहरुको निर्माण तथा डिजाइन, विकास तथा उत्पादनमार्फत अत्याधुनिक प्रविधि, उच्च कार्यक्षमता, उत्कृष्ट प्रदर्शन तथा वातावरणीय स्थायित्वप्रति प्रतिबद्धता सहित स्वच्छ तथा दिगो यातायात प्रणाली विकासमा कटिबद्ध रही कार्य गर्ने लक्ष्य राखेको छ । यस कम्पनीमा नविकरणीय ऊर्जा क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।