काठमाडौं । वाणिज्य बैंकको शाखा बझाङको साइपाल गाउँपालिकामा पनि खुलेको छ । राष्ट्रिय स्तरको क वर्गको बैंक एभरेष्टले साइपालमा शाखा खोलेको हो । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित गाउँपालिका अध्यक्ष मानविर बोहोरा, एभरेष्ट बैंकका अध्यक्ष बालगोपल बैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ लगायतको उपस्थितिमा बैंकको शाखा उद्घाटन गरिएको हो ।
योसँगै अब राष्ट्रिय स्तरका वाणिज्य बैंकहरु ७७ जिल्ला ७५३ वटै पालिकामा पुगेको छ ।
एतिहासिक साइपालको बैंक शाखा उद्घाटन गर्न गभर्नर अधिकारीसहितको टोलि सोमबारकाठमाडौंदेखि हेलिकप्टरमा गएका हुन् ।
उक्त बैंक शाखा गत असोज १० गते नै स्थापना गरिएको थियो । तर, विद्युत्, इन्टरनेट लगायतका अत्यावश्यक सेवा तथा पुर्वाधारको अभावका त्यहाँ कारोबार भने सुरु हुन सकेको थिएन ।
स्थानीयहरुले बैंकमा खाता खोल्ने काम मात्रै गरिरहेका थिए । बैंक कारोबार गर्न सबै पूर्वाधार तथा सेवाको व्यवस्था भएपछि आज शाखा कार्यालय उद्घाटन गरिएको हो । अब त्यहाँबाट बैंकिङ कारोबार पनि हुनेछ । आज नै गाउँपालिका कार्यालयले त्यही शाखामा बैंक खाता खोल्दैछ । बिभिन्न कोष तथा खाताको गरेर गाउँपालिकाले २४ वटा बैंक खाता खोल्नुपर्नेछ ।

गाउँपालिकाको वडा नम्बर १ स्थित धलौन भन्ने ठाउँमा शाखा खोलिएको छ, जुन पालिका प्रवेश गर्ने पहिलो ठाउँ हो । अहिले सडक पनि त्यही आसपासका क्षेत्रमा मात्रै पुगेको छ । सडक नहुदाँ पालिका अन्य वडाका नागरिक भने हिडेर नै बैंकसम्म आउनुपर्छ । कतिपय ठाउँका नागरिकलाई बैंकमा आउन एक दिन हिड्नुपर्ने बाध्यता भने कायमै छ । पहिला पालिका कार्यालय र स्थानीयहरु बैंकिङ कारोबार गर्न तीन दिन हिडेर सदुरमुकाम चैनपुर आउनुपर्ने बाध्यता थियो । त्यो बाध्यता भने अब हटेको छ ।
पालिकाका अध्यक्ष बोहराले धेरै मिहिनेत पछि बैंक शाखा स्थापना गर्न सकेको बताए । साइपाल गाउपालिका खेलकुद समिति अध्यक्ष रन्धोज धामीले पनि अब स्थानीयहरुलाई बैंकिङ कारोबार गर्न सहज हुने बताए ।
नेपाल राष्ट्र बैंकले २०७४ सालमै सबै अर्थात् ७५३ वटै पालिकाहरुमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नीति ल्याएको थियो । त्यसमा पालिका नै तोकेर बाणिज्य बैंकहरुलाई शाखा विस्तार गर्न निर्देशन दिइएको थियो । त्यसमा बझाङको साईपाल गाउँपालिकामा मात्रै बैंक शाखा स्थापना गर्न बाँकी थियो, जुन पालिका एभरेष्ट बैंकको भागमा परेको थियो ।
साईपालमा सडक र बिजुलीको पहुँच पनि पुगेको थिएन । साथै, इन्टरेन्टको पहुँच पनि पुगेको छैन । त्यसले गर्दा पनि त्यहाँ समयमै बैंक शाखा स्थापना हुन सकेको थिएन ।
त्यहाँ हेलिकप्टर मार्फत सामान ढुवानी गरेर बैंकको शाखा कार्यालयको भवन निर्माण गरिएको थियो । त्यहाँ विद्युत् जडान गर्न ६ किलोवाट क्षमताको सोलार प्लान्ट पनि राखिएको छ । अहिले त्यहाँ इन्टरनेट सेवा पनि पुगीसकेको छ । त्यसपछि बैंक शाखा स्थापना गर्न सहज भएको हो ।