काठमाडौं । यहीँ आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले यसबारे जानकारी दिएको हो ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना हुँदै आएको छ ।
३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह–शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम रहेको छ ।
त्यस्तै क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा.लि. (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस–पावर बीपीई प्रा.लि. र अनलिमिटेड टेक्नोलोजी प्रा.लि (ज्याप) रहेका छन् ।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि., एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रा.लि., डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा.लि. (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् ।
प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रा.लि., म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल प्रा.लि., मेगाटेक ग्रुप, हाइ(टेक इन्जिनियरिङ प्रा.लि. (डिजिकम), पाइन ओबरसिज प्रा.लि., सुबिसु केबलनेट प्रा.लि. लगायतका संस्थाले सहयोग गरेका छन् ।
नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताइन् । ‘प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’ अध्यक्ष पाण्डेले भनिन्। नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग नीतिगत पक्षमा नजिकबाट सहकार्य गरिरहेको बताउँदै उनले सामूहिक प्रयत्नबाटै डिजिटल नेपालको सपना पूरा हुने धारणा राखिन् ।

क्यान इन्फोटेकको शीर्ष प्रायोजक एचएमसी नेपालले प्रदर्शनीमा मुख्य आर्कषणका रुपमा हाइक सेमी स्टोरेज, हाइकभिजन स्मार्टबोर्ड, डिजिटल साइनेज, डिजिटल कियोस्क, दहुवा सीसीटीभी, वाईफाई क्यामेरा, यूपीएस, मोनिटर, एसर ब्रान्डका ल्यापटपहरु, एप्सन ब्रान्डका प्रिन्टरहरू लगायतकव् विशेष प्रदर्शन गर्नेछ ।
यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जाल मार्फत क्यान इन्फोटेकको टिकेट अनलाइनबाट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि रू. १०० र विद्यार्थीका लागि रू. ५० शूल्क तोकिएको छ । जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशूल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले जानकारी दिए ।