काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गरेका छन् । मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच आज भएको शिष्टाचार भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढावा दिन चाहेकाले पाकिस्तान सरकारलाई पनि उहाँले सो आग्रह गरेका हुन् ।
नेपालको सङ्घीय संसदले नेपाल–पाकिस्तान संसदीय मैत्री समूह गठन गरेको विषय जानकारी गराउँदै मन्त्री भण्डारीले यस संसदीय आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले भने, “हामीले दुई राष्ट्रबीच अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोग र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको स्थापना गरेका छौं, हामीले यी संयन्त्रमार्फत सम्वाद र सम्पर्क जारी राख्नु आवश्यक छ, अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोगको सातौँ बैठक र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको पाँचौँ बैठक नेपालमा आयोजना हुने भएको छ ।”