काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पुस २७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाँउ व्याङकेटमा बसेको कम्पनीको साधारणसभा सम्पन्न विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित गरेको छ । साधारणसभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट तीन जना यादव अधिकारी, रामहरी शर्मा र सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट एक जना सतिश गौतम गरि चार जना सञ्चालकलाई आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित समेत गरेको छ ।
वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित गरेको छ ।
कम्पनीले गत मंसिर मसान्तसम्म २१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै १७ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको कम्पनीको देशका मुख्यमुख्य शहरहरुमा २७ वटा शाखा कार्यालय र एक विस्तारित काउन्टरमार्फत १ लाख २० हजारभन्दा बढी सेवाग्राहीहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ ।