काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा साधारण शेयरको १० प्रतिशतले हुन आउने २ लाख २५ हजार कित्ता शेयर अंकित मूल्य १०० रुपैयाँ प्रतिकित्ताका दरले वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्ने भएको हो।
कम्पनीले १०० रुपैयाँका दरले चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ ।
वैदेशिक रोजगारीमा रहेकाले माघ ८ गतेदेखि २२ गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदन दिँदा न्यूनतम १० कित्ता र बढीमा १ लाख कित्ता शेयर खरिदको मागसहित आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै कम्पनीले ३ प्रतिशतले हुन आउने ६७ लाख ५०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेका १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गर्नेछ ।
साथै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खरिद प्रस्ताव गरिएको शेयर बाँकी रहेमा सो समेत थप गरिने व्यवस्था रहेको छ। कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडले रहेको छ ।