काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीलाई चेतावनी दिएका छन् । नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उनले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्बभन्दा बढी रुपियाँ भुक्तानी भइसकेको जानकारी र्दिएका हुन् ।
पौडेलले भने, ‘भुक्तानीयोग्य रकमको भुक्तानी प्रक्रिया निरन्तर जारी रहन्छ । तर सरकार र निर्माण व्यवसायी दुवै कानुनअनुसार चल्नुपर्छ । भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरुले सरकारलाई बुझाउनुपर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भुल्नु हुँदैन ।’
अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले सरकारको दायित्वअन्तर्गत निर्माण व्यवसायीलाई कुल २८ अर्ब ८९ करोड रुपियाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा अब करिव छ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रक्रियामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी दिए ।