काठमाडौं । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्षको मंसिर मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनकि गर्दै यस अवधिमा ६ खर्ब ४० अर्ब ४३ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु ६९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.६६९ अर्ब ७७ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या १,९०,३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १,३५,४२५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १,७१,९७५ र १,०२,५४२ रहेको थियो ।