+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुरक्षा लापर्बाही

एफवान सफ्टमा गम्भीर सुरक्षा त्रुटी– सिस्टम ह्याक गरेर बैंकबाट साढे तीन करोड चोरी

जनवाच
३ महिना अगाडी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो प्रविधि कम्पनीको रुपमा चिनिएको एफवान सफ्टको सुरक्षामा गम्भीर त्रुटी भेटिएको छ । कम्पनीको सिस्टम प्रयोग गरिएको सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपियाँभन्दा रकम चोरी भएपछि एफवानमाथि गम्भीर सुरक्षा प्रश्न उठेको हो ।

ह्याकरले सजिलै एफवान सफ्टको सिस्टमभित्र घुसेर बैंकको खाताबाट पैसा चोरी गरेको छ । यसबाट एफवान सफ्टको सिस्टम प्रयोग गर्ने बैंकहरु त्रसित भएका छन् भने बैंकमा खाता खोलेर पैसा जम्मा गर्ने निक्षेपकर्ताहरु समेत डराएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानबाट एफवान सफ्टको सिस्टमको कमजोरीको फाइदा उठाउँदै ह्याकरले सजिलै रकम चोर्न सफल भएको छ । टेलिग्राममार्फत ह्याकरले नेपालीहरुसँग सम्वन्ध बनाएर रकम चोरी गरेको खुलेको हो ।

टेलिग्राममा जब (जागिर) आवश्यक रहेको आशयको लिंक पठाउने र उक्त लिंक क्लिक गरेपछि ती व्यक्तिहरुसँग पहुँच पुर्‍याएर बैंक खाता खोल्न लगाइएको र एफवान सफ्ट ह्याक गरी रकम चोरिएको देखिन्छ । यस घटनामा बैंकको भन्दा पनि महंगो रकम तिरेर सुरक्षित ठानेर किनिएको सिस्टममा नै समस्या देखिएको सीआईबीले बताएको छ ।

सिटिजन्स बैंकको सफ्टवेयर बनाएको एफवान सफ्टको सोही बैंक दरबारमार्गस्थित खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपियाँ चोरी भएपछि झन धेरै आशंका उब्जिएको छ । चार दिन (२०२४ अक्टोबर १ देखि ४) मा पटक पटक ह्याक गरेर एफ वान सफ्टको खाताको रकम निकालिएको थियो । तर अहिले सफ्टवान सफ्टलाई जोगाएर बैंकको कमजोरी देखाउने प्रयास भइरहेको छ ।

साइबरको माध्यमबाट रकम ठगी गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका १० का २० वर्षीय राहुल ठाकुर, सोही ठाउँका १९ वर्षीय पुरुषोतम साह, सप्तरीका २१ वर्षीय कृष्णरमण राउत, सप्तरीकै राजविराज नगरपालिका–७ का ३० वर्षीय सञ्जिवकुमार शर्मा, उदयपुरको बेलका नगरपालिका ४ का २० वर्षीय कमल थापा मगर, बेलका–५ का २७ वर्षीय दीपक थापा मगर, सुनसरीको धरान उपमहानगरपालिका ८ का २४ वर्षीय सन्देश राई र सुनसरीको देवानगञ्ज गाउँपालिका ५ का २२ वर्षीय सागरकुमार साह र ललितपुरकी ४० वर्षीया त्रिगुणरत्न बज्राचार्यलाई पक्राउ गरेको छ भने केही फरार रहेको जनाइएको छ ।

ह्याकरले उनीहरुलाई प्रयोग गरेर रकम चोरेको प्रहरीको भनाई छ । सामाजिक सञ्जाल प्रयोग गर्ने र जागिर खोज्ने बेरोजगार युवाहरुलाई प्रयोग गरेर रकम सजिलै चोरी गरिएको हो । उनीहरुको युजर एकाउन्टबाट एफवान सफ्टको सिस्टममा ह्याकर पुग्नु भनेको सिस्टममा नै ठूलो कमजोरी हो भन्दै स्रोतले यसमा बैंकका कर्मचारीलाई दुःख दिने र यजरलाई दोषी देखाउने भन्दा पनि सिस्टम सुधार गर्ने वा सुरक्षित प्रविधिको प्रयोगमा ध्यान दिन जरुरी रहेको तर्क गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ