काठमाडौं । १५औं संस्करणको चितवन महोत्सव, २०८१ यहीँ पुस २५ गतेदेखि आयोजना हुने भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुने महोत्सव पुस २५ गतेदेखि माघ १० गते (९–२३ जनवरी २०२५) सम्म नारायणी नदी किनारमा योजना हुने भएको हो ।
यस वर्षको महोत्सवमा अन्तरराष्ट्रिय व्यवसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता रहने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सवमा चीनका उद्योग वाणिज्य संघहरुको समन्वयमा चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादनको प्रर्दशनी सहित चिनियाँ प्याभिलियन, ७ वटा विशेष स्टल , डोम, कृषि परिसर ,अटो परिसर साथसाथै निर्माण सामाग्री व्यवसायीको सहकार्यमा निर्माण एक्सपो, घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४३० वटा स्टलहरु रहने छन् ।
यस वर्ष पनि परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले पौष २९ देखि माघ ७ गतेसम्म क्याम्पाचौर नारायणगढमा फुड फेस्टिभल, पौष २९ गते देखी माघ ४ गते सम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य,पर्यटन, सूचना प्रविधि, साहित्य लगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु लगायतका कार्यक्रम सञ्चालन गरिने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् चितवन महोत्सव–२०८१ को मूल संयोजक सुमन श्रेष्ठले जानकारी दिए।
सो अवसरमा बोल्दै उद्योग वाणिज्य महासंघका एसोसियट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले देशको अर्थतन्त्र चलायमान बनाउन मेला महोत्सव सहयोगी हुने उल्लेख गर्दै अब यस्ता मेला महोत्सव स्वदेशी वस्तुको अन्तरराष्ट्रियकरण गर्न तथा निर्यात प्रर्वद्धनका लागि केन्द्रित रहने बताइन् ।
पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ कार्यकारिणी सदस्य सदस्य तथा व्यापार मेला समिति सदस्य सविन श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा केन्द्रित रहने महोत्सवमा पर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालन गरिने समेत जानकारी दिए ।
महोत्सवमा भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको मुख्य प्रवद्र्धन साथै ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजक रहेका छन् ।