काठमाडौं । काठमाडौंमा जोडो थप बढेको छ । शुक्रबार बिहानको काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्रीसेल्सियस मापन गरिएको छ । हिजो बिहानको न्यूनतम तापक्रम ३.९ डिग्रीसेल्सियस थियो । काठमाडौं उपत्यकामा बिहानदेखि नै हुस्सु लागेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनले काठमाडौंमा न्यूनतम तापक्रम घट्ने र हुस्सु लाग्ने बाहेक अरु उल्लेख्य मौसमी प्रणाली नभएको बताइन् । ‘हिजोको तुलनामा झन् घटेर काठमाडौंको न्यूनतम तापक्रम ३.९ मापन भएको छ । अरु उल्लेख्य मौसमी प्रणाली केही छैन,’ उनले भनिन् ।
उनका अनुसार आज आज पनि देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले बिहान पौने ६ बजेदेखि देशभर आंशिक बदली छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाको बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।
शनिबार बिहान भने तराई तथा काठमाडौं उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।