काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा आज चितवन राइनोज विरुद्ध लुम्बिनी लायन्स मैदानमा उत्रिएको छ । चितवन राइनोजले टस जितेर पहिले बलिङ रोजेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा जारी एनपीएल खेलमा लगातार चार खेलमा पराजित भएको लुम्बिनीले अहिले ब्याटिङ गरिरहेको छ ।
चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ ।
चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।
यस्तै लुम्बिनी लायन्स चारवटै खेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।
आजको दोस्रो खेल दिउँसो सवा एक बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।