काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन एयरलाइन्स कम्पनीहरुलाई उर्दी जारी गरेका छन् । हवाई भाडामा मनलाग्दी गरेको गुनासो बढेसँगै मन्त्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई यस्तो निर्देशन जारी गरेका हुन् ।
हवाई भाडावृद्धि नियन्त्रणबारे छलफलका लागि बुधबार मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरुलाई उच्चतमूल्यको भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन मन्त्री पाण्डेले निर्देशन दिएका छन् । ‘हामीले नागरिकहरुकै सेवा भनेर हवाइ कम्पनीहरुलाई सहुलियत दिएका थियौं । तर त्यसको उपहास भएको छ । राज्य र नागरिकप्रतिको दायित्वलाई वेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ ।
मन्त्री पाण्डेले भने, ‘नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गरिरहेका छन् । यो राम्रो भएन ।’ यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमती गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोस व्यक्त गरे । हवाई भाडाबृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउदै उनले राज्य र नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरे ।
मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले समेत अचाक्ली हवाईभाडा लिएकोप्रति सचेत गराए ।
नागरिकहरुले हवाई भाडा वृद्धि गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताउदै मन्त्री पाण्डेले २४ घण्टाभित्र (बिहीबार ४ बजेसम्म) बिक्रि गरेको टिकटको मूल्य आफुलाई उपलब्ध गराउन निर्देशन दिए । पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडा वृद्धि बारे पुर्नविचार नगरे सरकारले कडा कदम चाल्ने समेत चेतावनी दिए ।
सोही बैठकमा मन्त्रालयका सचिव डा. गणेश पाण्डेयले सम्झौता अनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्न गरेका छन् । ‘आफुले गरेको निर्णय आफै लागू गर्नेकी नियमन गर्न कठोर बन्नुपर्ने हो । सम्झौता किन लागू नगरेको ?’ निकै कडा रुपमा प्रस्तुत भएका सचिव पाण्डेले यदि निर्णय कार्यान्वयनमा अटेर गरे नयाँ हवाई कम्पनीहरुलाई सेवाका लागि आह्वान गरिने चेतावनी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रण सम्बन्धी पाँच बुदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृतिम अभाव देखाउदैँ कालो बजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने बताए ।
छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिहरुले हवाई भाडाबारे यथार्तत् जानकारी दिन आनाकानी गरेका थिए । एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै आलोचना भएको थियो । छलफलमा नेपालमा सेवा दिदैँ आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।