काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुले बक्यौता रकम नतिरे फेरि विद्युत लाइन काटिने घोषणा गरेका छन् । उद्योगमा लाइन जोडे लगत्तै बुधबार दिउँसो पत्रकार सम्मेलन गरेका घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने बताए।
उसो त गत आइतबार उद्योगको लाइन जोड्ने निर्णय गरेको सरकारले टिओडी मिटरको आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेको थियो ।
घिसिङले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’