काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने विषय गम्भीर भएको बताएका छन् । नियम अनुसार नै प्राधिकरणले महशुल नतिर्ने उद्योगहरुको विद्युत लाइन काटेपनि सरकारले फेरि विना महशुल लाइन जोडिदिए गम्भीर गल्ती हुने उनले बताएका छन् ।
‘बक्यौता नतिर्ने उद्योगहरुको लाइन प्राधिकरणले कानुन बमोजिम नै काटेको हो । तर, आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार दिउँसो १२ बजेसम्म लाइन जोडिसक्ने भन्ने निर्णय गरेको सुन्दैछु । यो गम्भीर विषय हो’ घिसिङले भने ।
उद्योगहरुमा लाइन जोड्ने सरकारको निर्णय आफुले समाचारबाटै थाहा पाएको बताउँदै कार्यकारी निर्देशक घिसिङले सरकारको आधिकारिक पत्र आफुले पाइनसकेको बताए । पत्र आइसकेपछि के गर्ने भन्ने निर्णय छलफलबाट हुने उनले बताए ।
‘अब छलफल नभईकन लाइन जोड्ने नजोड्ने भन्ने विषय यसै भन्न सकिन्न । पहिला सरकारको निर्णय आउनुपर्यो, त्यसपछि छलफल हुन्छ’ घिसिङले दोहोर्याए, ‘हामीले निर्णय गरेको कानुन अनुसार हो । लाइन काटिएपछि जोड्नका लागि त्यहाँ सर्टेन प्रक्रिया छ,किस्तालगायतको व्यवस्था छ । यो प्राविधिक पक्ष हो । अब क्याबिनेटले निर्णय गरेपछि यसबारे छलफल होला नी ।’
लामो समयदेखि विवादित डेडिकेटेड र ट्रंक लाइन मुद्दा थप पेचिलो बन्ने देखिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्ले लाइन काटिएका उद्योगमा सोमबार १२ बजेभित्रै लाइन जोड्ने निर्णय गरेको छ । यस्तै बैठकले टाइम अफ डे (टीओडी) मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको छ।