काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार र शनिवार गरी चारवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले उडान सम्पन्न भएकाले मन्त्री पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै सबैमा आभार प्रकट गरेका हुन् ।
आफूले मन्त्री पदको जिम्मेवारी समालेसँगै भैरहवा र पोखरा विमानस्थल सचालनका लागि पहिलो प्राथमिकता राखेको उनले बताएका छन्।
मन्त्री भनेका छन्, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन र मैले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै हामीले यी दुई विमानस्थल सञ्चालनलाई पहिलो प्राथमिकतमा राखेर सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठन गरी सोही समितिको सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा कर लगायतका विषयमा छुट दिने निर्णय गर्यौं । त्यसैको परिणाम स्वरुप अहिलेको उडान संभव भएको हो ।’
उनले विज्ञप्तिमा थप भनेको छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसै हप्ता अन्तर्राष्ट्रिय चार्डड उडान भएको छ र सो विमानस्थलमा पनि थप उडानका लागि प्रयासहरु भईरहेका छन् ।’
मन्त्री पाण्डेले ठूलो पुँजी लागानी गरेका विमानस्थल पूर्णरुपमा सञ्चाल हुन त्यससँग जोडिएका यातायात होटल तथा अध्यागमन श्रम लगायतका अन्तर सम्बन्धित (इन्टर लिङ्क) पूर्वाधारहरुको विकास हुनु आवश्यक हुने बताए । ‘ती सम्पूर्ण पूवार्धार निर्माण, यात्रु तथा विमान कम्पनीहरु अभ्यस्त हुन केही समय लाग्न सक्छ । यी तमाम कामलाई चरणवद्ध रुपमा सम्पन्न गर्न पर्यटन तथा नगरिक उड्डयनमन्त्रालय र सरकार प्रतिवद्ध छ’ उनले भनेका छन् ।
सोही अवसरमा मन्त्री पाण्डेले राज्यको लगानीमा निर्माण भएको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको दुई वर्षसम्म पनि जजिरा एयर हवाई कम्पनीले केही समयका लागि गरेको उडान बाहेक कुनै पनि अन्तर्राष्ट्रिय हवाई उडान नभर्दा स्थानीय व्यबसायी लगायत आम सर्वसधारणमा निराशाको वातावरण बनेको बताए ।
तर उनले भनेका छन्, ‘सामान्य वा ठूलो लागनीका व्यबसाय वा उद्योग वा विकास पूर्वाधार स्थापना भएको भोलिपल्टबाटै नाफामा वा ‘ब्रेक इभन’मा जाँदैनन् । केही समय त्यसका लागि कुर्नुपर्छ भन्ने कुरा हामी सबैलाई स्मरण गराउँदै अन्तर्राष्ट्रिय विमानस्थल जस्तो वृहत विकास परियोजना त्यसमा पनि हाम्रो जस्तो भौगोलिक तथा भूराजनीतिक जटिलता भएको देशमा तत्कालै पूर्ण क्षमता सञ्चालनमा आउने कुरा संभव पनि छैन । भैरहवा विमानस्थल निर्माण सम्पन्न भए पनि यसमा इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) जस्ता उपकरण सञ्चालन गर्न र सहज हवाई रुटका लागि छिमेकी मित्रराष्ट्र भारतबाट स्वीकृति लिनु पर्ने जस्ता प्राविधिक समस्याहरु विधमान थिए र यी विषय अझै पनि छलफलका क्रममा छन् । जसले गर्दा दुई वर्षसम्म यी विमानस्थलबाट पनि खासै सेवा सञ्चालन हुन सकेन’ उनले भनेका छन् ।