काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले द क्लिफ नेपालको अवलोकन भ्रमण गरेका छन् । राजदूत छनसहितको टोलीले शुक्रबार साहसिक पर्यटनको हब क्लिफ पुगेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए।
क्लिफको अवलोकन पश्चात राजदूत छनले क्लिफका साहसिक गतिविधिमा रमाउन मन भएपनि समयका कारण सम्भव नभएको बताए । त्यसका लागि अर्को पटक क्लिफ आउने उनको भनाइ छ ।
राजदूत छनसहितको टोलीको भ्रमणले कम्पनी र कर्मचारीलाई नयाँ ऊर्जा मिलेको अध्यक्ष कार्कीको भनाइ छ । भ्रमणमा गण्डकी प्रदेशका पूर्वपर्यटन मन्त्री विकास लम्साल लगायतको सहभागिता थियो ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङको बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ ।
पछिल्लो समय एडभेञ्चर हबको रुपमा विकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।
यसअघि द क्लिफमा विभिन्न मन्त्री तथा सरकारका पदाधिकारीहरूले समेत अवलोकन भ्रमण गरिसकेका छन् ।