काठमाडौं। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । तिहार लगत्तै मंगलबार अदालतमा पेश गरेको प्रहरीले लामिछानेमाथि अनुसन्धानका लागि थप समय माग गरेकोमा जिल्ला अदालत कास्कीले प्रहरीलाई १० दिनको समय दिएको हो ।
कात्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
योसँगै सहकारी ठगी मुद्दामा पक्राउ परेका लामिछानेमाथि अनुसन्धानलाई तेस्रो पटक म्याद थप गरिएको छ । कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी ३ गते जिल्ला अदालत कास्कीमा पेश गरिएका लामिछानेलाई यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र पछिल्लो पटक १० दिन म्याद थपिएको हो ।