काठमाडौं । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गतको एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा मंगलबार राति भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाउन सक्यो ।
स्कटल्याण्ड विरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले जम्मा २९.५ ओभरमा नै १५५ रनको लक्ष्य सजिलै पुरा गर्यो । खेलमा नेपाली क्रिकेटका क्याप्टेन सन्दीप लामिछाने एक्लैले तीन विकेट लिए भने करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट लिए भने आरिफ शेखले एक विकेट लिए ।
नेपाल विरुद्ध फिल्डिङ (बलिङ) मा रहेको स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए भने कुशल भुर्तेल र गुल्शन झाको २५–२५ रनको योगदानमा आसिफ शेखले थप २१ रन जोडे।
लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।